Free Christian classic ebooks for you to download from the Jesus Fellowship:
Browse books now

Jesus Fellowship Multilingual Online Bible


Nepali (Simple Nepali Holy Bible)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali (Simple Nepali Holy Bible), Ezekiel 24

1   हामी कैदमा लगिएको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिन परमप्रभु मसित बोल्‍नुभयो।

2   उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, आजको मिति लेखिराख् किनभने आजको दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हाल्‍न सुरु गर्नेछ।

3   मेरो बागी प्रजालाई म सार्वभौम परमप्रभुको यो उखान सुना: “आगोमाथि भाँडो राख्, भाँडोमा पानी भर्‌,

4   त्‍यसमा सबैभन्दा राम्रो मासुका टुक्राहरू हाल्, कुम र फिला जति हाल्, असल-असल हड्डीहरूले पनि भर्‌।

5   असल-असल भेडाको मासु पनि हाल्, भाँडामुनि दाउरा हाल्, भाँडाको पानी उमाल्, हड्डीहरू र मासु उमाल्।”

6   सार्वभौम परमप्रभु यसो भन्‍दै हुनुहुन्‍छ, “हत्‍याराहरूको यो सहर विनाश भएर जानेछ। यो कहिल्‍यै नमाझेको एउटा खिया लागेको भाँडोजस्‍तो छ। एक-एक टुक्रा गरी मासु निकालिनेछ, एक टुक्रा पनि भाँडोमा छोडिनेछैन।

7   सहरमा हत्‍या भयो तर रगतचाहिँ धूलोले छोपिने जमिनमा बगेन तर नाङ्गो चट्टानमा बग्‍यो।

8   रगत मैले त्‍यहीं छोडेको छु, जहाँ त्‍यो लुक्‍न सक्‍दैन। त्‍यहाँ त्‍यसले मेरो क्रोध जगाएर बदला लिन खोजिरहेको छ।”

9   सार्वभौम परमप्रभु यसो भन्‍दै हुनुहुन्‍छ, “हत्‍याराहरूको यो सहरको विनाश आएको छ। म आफैंले आगो बाल्‍ने दाउरा थुपार्नेछु।

10  अझ धेरै दाउरा ल्‍याऊ। आगो दन्‍काऊ। मरमसला हालेर मासु पकाऊ। हड्डीहरू जलाइदेऊ।

11  अब रित्तो काँसाको भाँडो आगोमाथि राख र त्‍यसलाई तातिएर रातो हुन देऊ। तब त्‍यसको खिया जलेर जानेछ र त्‍यो भाँडो फेरि शुद्ध हुनेछ।

12  तापनि सबै खिया त ज्‍वालामा जलेर जाँदैन।

13  ए यरूशलेम, ‘तेरो भ्रष्‍टताले तँलाई बिटुलो पारेको छ। मैले तँलाई पवित्र गर्न चेष्‍टा गरें तर तँ अपवित्र नै रहिस्। मेरो क्रोधको पूरा शक्ति थाहा नपाएसम्‍म तँ फेरि पवित्र हुनेछैनस्।

14  म सार्वभौम परमप्रभु बोलेको छु। मैले काम गर्ने समय आयो। म तेरा पापहरू नदेखेझैँ गर्नेछैनँ। म तँलाई दया देखाउनेछैनँ, कृपा गर्नेछैनँ। तेरो कामको लागि तैँले दण्‍ड पाउनेछस्।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।

15  परमप्रभु मसित बोल्‍नुभयो,

16  “ए मरणशील मानिस, तैँले सबैभन्दा धेरै माया गरेको व्‍यक्तिलाई म एकै प्रहारमा तँबाट लैजानेछु। तर तैँले दु:ख नपोखाउनू, नरुनू र आँसु नझार्नू।

17  तैँले सुँक्‍क-सुँक्‍क गरी रोएको पनि कसैले नसुनोस्। तैँले शोक गरेको देखाउन कपाल नखौरी र खाली खुट्टा नहिंड्। तेरो अनुहार नछोप् र शोक गर्नेहरूले खाने भोजन तैँले नखा।”

18  म बिहानै मानिसहरूसित कुरा गर्दै थिएँ। त्‍यही साँझ मेरी स्‍वास्‍नी मरी। त्‍यसको भोलिपल्‍ट मैले उहाँको आज्ञाअनुसार गरें।

19  मानिसहरूले सोधे, “तिमीले गरेको यस्‍तो व्‍यवहारको अर्थ के हो?”

20  यसकारण मैले तिनीहरूलाई भनें, “परमप्रभु मसित बोल्‍नुभयो

21  र ‘तिमीले इस्राएलीहरूलाई यो सन्‍देश देऊ भन्‍नुभयो। तिमीहरू मन्‍दिरको शक्तिमा घमण्‍ड गर्दछौ। तिमीहरू त्‍यसलाई हेर्न र त्‍यहाँ जान अति मन पराउँछौ तर परमप्रभुले त्‍यसलाई अपवित्र पार्नुहुनेछ। यरूशलेममा छोडिएका तिम्रा परिवारका जवान छोरा-छोरीहरू लडाइँमा मारिनेछन्।

22  तब मैले गरेझैँ तिमीहरूले गर्नेछौ। तिमीहरूले आफ्‍ना अनुहार छोप्‍नेछैनौ र शोक गर्नेहरूले खाने भोजन खानेछैनौ।

23  तिमीहरूले कपाल खौरिनेछैनौ खाली खुट्टा हिंड्‍नेछैनौ, रुने वा विलाप गर्नेछैनौ। तिमीहरू आफ्‍ना पापले गर्दा सुकेर जानेछौ र आपसमा सुँक्‍क-सुँक्‍क गर्दै रुनेछौ।

24  तब म तिमीहरूको लागि एउटा चिनो हुनेछु। मैले जे-जे गरें, त्‍यही तिमीहरूले पनि गर्नेछौ। परमप्रभु भन्‍नुहुन्‍छ कि यी सबै कुरा हुँदा उहाँ नै सार्वभौम परमप्रभु हुनुहुन्‍छ भनी तिमीहरूले जान्‍नेछौ।”

25  परमप्रभुले भन्‍नुभयो, “अब ए मरणशील मानिस, म तिनीहरूबाट त्‍यो शक्तिशाली मन्‍दिर, जसमा तिनीहरू घमण्‍ड गर्थे र आनन्‍द मनाउँथे, जसको दर्शन गर्न जान मन पराउँथे, त्‍यो खोस्‍नेछु र तिनीहरूका छोरा-छोरीहरू पनि लैजानेछु।

26  मैले त्‍यसो गरेको दिन त्‍यस विनाशबाट बाँच्‍ने एउटा मानिस आएर त्‍यसबारे तँलाई भन्‍नेछ।

27  त्‍यही दिन तेरो बन्‍द भएको मुख खोलिनेछ र त्‍यस मानिससित तैँले कुरा गर्नेछस्। यस प्रकारले तँ मानिसहरूको निम्‍ति एउटा चिनो हुनेछस् र परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्’।”


Ezekiel 23    Choose Book & Chapter    Ezekiel 25

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Simple Nepali Holy Bible. You can also read the same passage in the Nepali New Revised Version

Simple Nepali Holy Bible: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2019. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship